बेनी–जोमसोम–कोरला सडकमा आठ अर्ब ९६ करोड खर्च
मुस्ताङ, ३० साउन – चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनामा हालसम्म आठ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । कालीगण्डकी करिडोर कोरला सडक योजनाका अनुसार आर्थिक वर्ष २०७३/७४ देखि चालु आर्थिक वर्ष २०८२/८३ सम्म उक्त रकम खर्च भएको हो । आयोजनाको साविक लागत अनुमान १० अर्ब ५६ करोड रुपैयाँ रहेकामा हालसम्म आठ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको योजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
आयोजनाको पछिल्लो संशोधित लागत अनुमान १५ अर्ब रुपैयाँ पुगेको छ । संशोधित लागतका आधारमा आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ६० प्रतिशत पुगेको छ । पर्वतको मालढुङ्गादेखि नेपाल–चीनको उत्तरी कोरला नाकासम्म २०२ किलोमिटर सडक कालोपत्र तथा स्तरोन्नति गर्ने लक्ष्य रहेकोमा गत असारसम्म करिब ९० किलोमिटर सडक कालोपत्र भइसकेको छ ।
मुस्ताङको छुसाङदेखि घमीसम्मको ५० किलोमिटर सडक थप स्तरोन्नति गरी कालोपत्र गर्न दुई अर्ब रुपैयाँभन्दा बढीको ठेक्का आह्वान भइसकेको छ । चालु आर्थिक वर्षमा म्याग्दीको सिरुबारी क्षेत्रको पहिरोग्रस्त ठाउँमा ५०० मिटर सडक कालोपत्रका लागि पनि ठेक्का आह्वान गरिने भएको छ ।
आयोजनाअन्तर्गत मालढुङ्गादेखि कोरला नाकासम्म २६ वटा पक्की मोटरेबल पुल निर्माण गर्ने लक्ष्य राखिएको छ । हालसम्म १८ वटा पुल निर्माण सम्पन्न भएका छन् भने चार वटा निर्माणाधीन छन् । बाँकी चार पुलका लागि भने बजेट विनियोजन हुन बाँकी रहेको आयोजनाले जनाएको छ ।
यसैगरी बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा गुइठेभीर, खामभित्ता र बैसरीमा पहिरो रोकथामको काम भइरहेको छ । चालु आर्थिक वर्षमा मालढुङ्गा–बेनी सडकखण्डका जुके खोला, केराबारी र लाटी खोलामा तथा बेनी–जोमसोम सडकका सिरुबारी, महभीर, नौनीबगर र सुकेबगरमा थप पहिरो रोकथामका योजना अघि बढाइने भएको छ । बेनी–जोमसोम–कोरला सडकको पछिल्लो संशोधित निर्माण अवधि आर्थिक वर्ष २०८८/८९ सम्म कायम गरिएको योजना प्रमुख शर्माले जानकारी दिनुभयो ।

