आलु उत्पादक किसानको गुनासो : ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर’
काभ्रेपलाञ्चोक, ८ चैत – काभ्रेपलाञ्चोकका किसान यतिबेला आलु खन्न व्यस्त छन्। उत्पादन राम्रो भए पनि बजार अभाव र मूल्यमा गिरावट आएपछि किसान चिन्तित बनेका छन्। जिल्लाका पाँचखाल, मण्डनदेउपुर, नाला र पनौती क्षेत्र आलु उत्पादनका मुख्य केन्द्र हुन्। खेतबारीमा आलुका बोरा थुप्रिएका छन् भने सडक छेउमा पनि आलुको चाङ देखिन्छ। तर बजार मूल्य घट्दै जाँदा किसानमा निराशा छाएको छ।
खेतमै पुग्ने व्यापारीसमेत घटेपछि किसान आफैँ बोलाएर आलु बिक्री गर्न बाध्य छन्। पाँचखाल नगरपालिका–६ ढुङ्गानाबेँसीका किसान रामेश्वर सापकोटाका अनुसार अहिले आलु प्रतिकिलो रु ७ देखि १० सम्ममा बिक्री भइरहेको छ। “आलुको भाउ घटेको छ, व्यापारी पनि खेतमा आउँदैनन्,” उहाँले भन्नुभयो, “खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ।”
आलुको लागत मूल्य भने प्रतिकिलो रु १८ देखि २० सम्म पर्ने किसानको भनाइ छ। अघिल्लो वर्ष यही समयमा प्रतिकिलो रु २८ देखि ३५ सम्ममा बिक्री हुने आलु यस वर्ष सस्तोमा बेच्नुपर्दा लागत उठाउनै कठिन भएको छ। स्थानीय किसान विजय पराजुलीका अनुसार खेतमै आलु कुहिने डरले घाटा सहेरै प्रतिकिलो रु १० सम्ममा बिक्री गर्नुपरेको छ। “बेचेको पैसासमेत समयमा पाइने नपाइने चिन्ता छ,” उहाँले भन्नुभयो।
पाँचखाल नगर कृषि शाखाका प्रमुख हेमन्त पौडेलका अनुसार नगर क्षेत्रमा करिब ७० हजार रोपनीमा आलुखेती हुँदै आएको छ र वार्षिक करिब ९० हजार मेट्रिक टन उत्पादन हुन्छ। यस वर्ष मूल्य घटेकाले करिब रु ६३ करोड ७० लाख बराबरको आम्दानी किसानले गुमाउने अनुमान गरिएको छ।
मण्डनदेउपुर क्षेत्रमा पनि उत्पादन बढे पनि मूल्य घटेको गुनासो छ। ८२ वर्षीय किसान पशुपति श्रेष्ठले “उत्पादन दोब्बर भए पनि भाउ घटेकाले किसानलाई दुःख भएको” बताउनुभयो। स्थानीय किसान नारायण श्रेष्ठका अनुसार यस वर्ष उत्पादन बढे पनि मूल्य अघिल्लो वर्षको तुलनामा निकै घटेको छ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा वार्षिक नौ हजार १६३ हेक्टर क्षेत्रफलमा एक लाख ८९ हजार ७८ मेट्रिक टन आलु उत्पादन हुने गरेको छ। यहाँ उत्पादन हुने तरकारीमध्ये करिब ३५ प्रतिशत हिस्सा काठमाडौँ बजारमा आपूर्ति हुने गरेको छ, जसमा आलु अग्रस्थानमा रहेको छ। किसानले उत्पादनको उचित मूल्य निर्धारण, भण्डारण सुविधा, बजार व्यवस्थापन तथा आलु प्रशोधन उद्योगको विकास भएमा समस्या समाधान हुने अपेक्षा गरेका छन्।

