पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

काठमाडौँ, ७ चैत – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भू–भागमा अधिकांश स्थानमा बादल लागेको छ।

महाशाखाका अनुसार पछिल्ला दिनको तुलनामा मौसममा केही सुधार देखिए पनि आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनापानीको सम्भावना कायम रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।

त्यसैगरी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। राति देशभर सामान्य बदली रहनेछ भने हिमाली भू–भागका थोरै स्थान र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार आइतबारदेखि मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। यसअघि शुक्रबार आएको हावाहुरी र असिनापानीले देशका विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो र जनजीवन प्रभावित बनेको थियो। आज पनि केही स्थानमा चट्याङ, हावाहुरी तथा असिनापानीको सम्भावना रहेकाले सतर्कता अपनाउन सरोकारवाला निकायले आग्रह गरेका छन्।

Facebook Comments Box