पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ, ७ चैत : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो। उहाँले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट हटाएपछि देशमा राजनीतिक असन्तोष बढेको थियो। त्यसपछि भएका आन्दोलनहरूको नेतृत्व कोइरालाले गर्नुभएको थियो।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि कोइरालाले सबै दललाई एकताबद्ध गर्दै पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गर्नुभयो। उहाँकै नेतृत्वमा भएको जनआन्दोलन २०६२/०६३ सफल भई २०६३ वैशाख ११ गते विघटित प्रतिनिधिसभा पुनःस्थापना भएको थियो, जसलाई ‘नेपाली म्याग्नाकार्टा’ समेत भनिन्छ।

आन्दोलन सफल भएपछि उहाँ चौथोपटक प्रधानमन्त्री बन्नुभयो। पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको अधिकार कटौती गर्दै राजतन्त्रलाई आलङ्कारिक भूमिकामा सीमित गरेको थियो। कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजन तथा हतियार व्यवस्थापन सम्पन्न भएको थियो। उहाँकै पहलमा २०६४ चैत २८ गते संविधानसभा निर्वाचन २०६४ सम्पन्न भई संविधानसभा गठन भएको थियो, जुन नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धि मानिन्छ।

त्यसैगरी, २०६५ जेठ १५ गते नेपालमा २४० वर्ष लामो शाह वंशीय राजसंस्थाको अन्त्य भई देश नेपालको गणतन्त्र घोषणा २०६५मार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको थियो। नेपालमा शान्ति र लोकतन्त्र स्थापनामा पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस तथा यससँग सम्बद्ध भ्रातृ एवं शुभेच्छुक संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरी कोइरालाको स्मृति दिवस मनाइरहेका छन्।

Facebook Comments Box