नेपाल रेडक्रसद्वारा सदस्यता वितरण अभियान सुरु
काठमाडौँ, ७ चैत – नेपाल रेडक्रस सोसाइटीले एक महिने सदस्यता वितरण अभियान सुरु गरेको छ। सोसाइटीले जारी गरेको सूचनाअनुसार गत फागुन २५ गतेदेखि सुरु भएको अभियान यही चैत २४ गतेसम्म सञ्चालन हुने जनाएको छ।
सूचनामा नेपाल रेडक्रसको सदस्यता सधैं खुला रहने उल्लेख गर्दै विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) तथा केन्द्रीय तदर्थ समितिको २०८२ फागुन २४ गतेको बैठकको निर्णयअनुसार यो अभियान सञ्चालन गरिएको जनाइएको छ। अभियानमार्फत सदस्यता लिन इच्छुक नेपाली नागरिकलाई अवसर प्रदान गरिनेछ। साथै युवाको सहभागिता वृद्धि र कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने लक्ष्य पनि राखिएको छ।
रेडक्रसका सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात् गर्दै तोकिएको प्रक्रिया पूरा गरी शुल्क बुझाएर सदस्यता लिन सकिने सूचनामा उल्लेख छ। सदस्यता पालिका तहका शाखा, जिल्ला शाखा, प्रदेश कार्यालय तथा केन्द्रीय कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
थप जानकारीका लागि सम्बन्धित शाखाका पदाधिकारी, प्रदेश कार्यालय वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ। साथै सोसाइटीको आधिकारिक वेबसाइट र निःशुल्क हटलाइन सेवा ११३० मार्फत पनि जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

