‘सित्तैमा आएको पैसा’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति !’ : भीम रावल

काठमाडौं , १२ पुस – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे दिएको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । उनले एमसीसी सम्झौता अरूले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देउवाले देखाएको आरोप लगाएका हुन् ।

‘सम्झौतामा ‘कहीँ राष्ट्रघात नदेखेको’ र ‘सित्तैमा आएको पैसा किन नलिने’ भन्नु नेपालको हित, स्वाधीनता र अधिकारमा आँच पुग्ने प्रावधानप्रति आँखा चिम्लेर बाह्य शक्तिको नांगो भक्ति हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरूपयोग गर्न एमसीसी अन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति !’

यस्तो कुरा नेपाल सार्वभौम, स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै नसक्ने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले आइतवार नेकपा (माओवादी केन्द्र) को ८ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आफूले एमसीसीमा कतै राष्ट्रघात नदेखेको र सित्तैमा आएको पैसा किन नलिने भन्दै अभिव्यक्ति दिएका थिए ।

Facebook Comments Box