आजको मौसम पूर्वानुमानः कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, ३ चैत – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसको प्रभावका कारण कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको जनाइएको छ।
हाल कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा अन्य हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ। आज राति भने गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा राति पनि एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्ने जनाएको छ।

