गुमेको दृष्टि फर्किएपछि उत्साहित बने रामेछापवासी

रामेछाप, १५ भदौ – रामेछापका दृष्टि गुमाएका एक सयभन्दा बढी बिरामीलाई निःशुल्क आँखा शिविरमार्फत् पुनः दृष्टि दिइएपछि उनीहरू अत्यन्तै खुसी भएका छन्। मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन भएको शिविरमा मोतियाविन्दुको शल्यक्रिया गरेर १११ जनाको आँखामा दृष्टि फर्काइएको र थप तीन जनाको ‘माइनर अपरेशन’ समेत गरी कुल ११३ जनाको उपचार गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीका आँखा स्वास्थ्य कार्यकर्ता पुष्कल घिमिरेले जानकारी दिनुभयो।

गाउँमै निःशुल्क शल्यक्रिया हुने सुविधा उपलब्ध भएपछि समय र पैसाको ठूलो खर्च बचेको सेवाग्राहीहरू बताउँछन्। रामेछाप नगरपालिका–८ का केदारनाथ घिमिरेले गुमेको दृष्टि फर्किएकामा खुसी व्यक्त गर्दै भन्नुभयो, “अब टाढा काठमाडौँ धाउनुपर्ने बाध्यता हट्यो।”

यस्तै, अर्की सेवाग्राही सोनमाया घिसिङले लामो समयदेखि धमिलो देखिने समस्या समाधान भएसँगै सहज अनुभव भएको बताइन्। ओख्रेनीका पूर्ण तामाङ र खाँडादेवी गाउँपालिकाकी मैया तामाङले पनि गाउँमै गुणस्तरीय उपचार पाउँदा ठूलो राहत भएको जनाए।

शिविर जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली, खाँडादेवी गाउँपालिका माकादुम र सामुदायिक विकास समाज मन्थलीको आयोजनामा, वरिष्ठ नेत्ररोग विशेषज्ञ सुष्मा दुवालको नेतृत्वमा ११ जनाको टोलीले सम्पन्न गरेको थियो। यद्यपि, बिरामीहरूलाई राहत दिलाउने यस्ता शिविर प्रायः निजी तथा गैरसरकारी अस्पतालले सञ्चालन गर्दै आएका छन्।

तर सरकारी अस्पताल र स्वास्थ्य निकायले आँखा रोगलगायत अन्य विशेष उपचारप्रति पर्याप्त चासो नदेखाएको स्थानीयवासीहरूको गुनासो छ। उनीहरूको भनाइमा, जिल्लास्तरमै नियमित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने हो भने धेरै बिरामीलाई उपचारका लागि काठमाडौँ वा अन्य सहर धाउनुपर्ने बाध्यता हट्नेछ।

Facebook Comments Box