नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाइँदै

नवलपरासी, ३ चैत –  नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफ्लाइटिस को सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय का प्रमुख केशव चापागाईँ का अनुसार चैत १ गतेदेखि जिल्लाभर खोप अभियान सुरु गरिएको हो। अभियानअन्तर्गत करिब एक लाख ५० हजारभन्दा बढी ३५ वर्षमाथिका नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ।

चालु आर्थिक वर्षमै जिल्लामा १५ जना सङ्क्रमित फेला परिसकेका छन्, जसमा छ जनाको मृत्यु भइसकेको छ। “सङ्क्रमणदर बढ्दै गएकाले जिल्लालाई लक्षित गरेर खोप अभियान सञ्चालन गरिएको हो,” चापागाईँले बताउनुभयो।जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनाल का अनुसार जिल्लाका आठवटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ।

अघिल्ला वर्षहरूको तथ्याङ्कले पनि जोखिम बढ्दो देखाएको छ—आर्थिक वर्ष २०७९/८० मा सात सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको थियो भने २०८०/८१ मा आठ सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको थियो। यो रोग क्युलेक्स लामखुट्टे मार्फत सर्ने गर्दछ। यी लामखुट्टे प्रायः साँझपख सक्रिय हुने र धानबालीमा जमेको पानीमा बस्ने भएकाले साउन, भदौ र असोज महिनामा सङ्क्रमण बढी देखिन्छ।

विश्वभर हरेक वर्ष ५० हजारभन्दा बढी व्यक्तिमा यो रोग देखिने गरेको छ, जसमध्ये १० देखि १५ हजार जनाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ। स्वास्थ्य निकायले खोपसँगै लामखुट्टे नियन्त्रण, सरसफाइ र व्यक्तिगत सावधानी अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरेका छन्।

Facebook Comments Box