‘पहाड’ मा नेपाली समाजको कथा
काठमाडौँ, २ चैत – निर्देशक तुलसी घिमिरे ले युवा जनशक्ति विदेश पलायन हुँदा खाली हुँदै गएका पहाडी बस्ती र त्यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरेर पहाड चलचित्र निर्माण गरिएको बताउनुभएको छ। आगामी वैशाख १ (नयाँ वर्ष) देखि प्रदर्शन गर्ने तयारी गरिएको चलचित्रको आइतबार टिजर सार्वजनिक गर्दै निर्देशक घिमिरेले यसको कथाले पहाड मात्र नभई समग्र देशकै अवस्थालाई झल्काउने बताउनुभयो।
उहाँले भन्नुभयो, “पहाड एकदमै सुन्दर ठाउँ हो, तर पछिल्लो समय युवाहरू विदेश पलायन भएका छन्। रोजगारीका लागि बसाइँसराइ बढ्दा पहाड उजाड जस्तै देखिन थालेको छ। यही विषयलाई लिएर चलचित्र तयार गरेको हुँ।” उहाँले चलचित्रले दर्शकसँगै घर, परिवार र समाजमा पनि विचारका रूपमा प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
भाग्यरत्न फिल्म्स प्रालि को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा बिपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ र उमा गिरी लगायतका कलाकारको अभिनय रहेको छ। साथै निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरे लाई पनि यसै चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकमाझ प्रस्तुत गर्नुभएको छ।

