प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर
काठमाडौं, ३० फागुन – निर्वाचन आयोग का अनुसार यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर भएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा उक्त परिमाणमा मत बदर भएको जानकारी दिनुभयो।
उहाँका अनुसार विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मतको प्रतिशत ५.०६ थियो भने २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५.१८ प्रतिशत मत बदर भएको थियो।
त्यसैगरी विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा ४.९६ प्रतिशत मत बदर भएको थियो। साथै २०६४ साल चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा ५.१५ प्रतिशत मत बदर भएको थियो। निर्वाचन आयोगका अनुसार विगतका पाँच निर्वाचनको तुलनामा यसपटक औसतमा कम मत बदर भएको देखिएको छ।

