मोन्था चक्रवातको प्रभाव : हरैंचामा १०४ मिलिमिटर वर्षा, कोशी–मधेशमा अझै भारी वर्षाको सम्भावना
काठमाडौँ, १४ कात्तिक – बंगालको खाडीमा विकसित मोन्था चक्रवातको आंशिक प्रभावका कारण देशका पूर्वी भूभागमा मध्यमदेखि भारी वर्षा भएको छ। पछिल्ला तीन घण्टामा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यसैगरी, सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार मोन्था चक्रवातको प्रणालीको मुख्य प्रभाव आज कोशी र मधेश प्रदेशमा केन्द्रित हुने भएकाले ती प्रदेशका केही स्थानमा आज पनि भारी वर्षा हुने सम्भावना छ।
उनका अनुसार काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा, र अन्य प्रदेशहरूमा हल्का वर्षा हुने अनुमान गरिएको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। प्रवक्ता पोखरेलका अनुसार भोलि शनिबार बिहानदेखि क्रमिक रूपमा मौसममा सुधार आउनेछ।

