सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, २७ फागुन – जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख सहयोग उपलब्ध गराउने भएको छ । सार्क–जापान विशेष कोषअन्तर्गतका विभिन्न कार्यक्रम कार्यान्वयनका लागि जापान सरकारले उक्त रकम उपलब्ध गराउन लागेको हो ।

सार्क सचिवालयका अनुसार यस सम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर गरिएको छ । सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त सहयोगबाट सार्कअन्तर्गत सञ्चालन हुने विभिन्न कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै यसले जापान र सार्क सदस्य राष्ट्रबीचको मैत्रीपूर्ण सम्बन्ध, सहकार्य र आपसी सहयोगलाई अझ सुदृढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ ।

Facebook Comments Box