मिथिलामा आजदेखि औपचारिक रूपमा छठ पर्व सुरु
धनुषा, ८ कात्तिक – मिथिलामा आजदेखि औपचारिक रूपमा छठ पर्व सुरु भएको छ। मिथिलाको सबैभन्दा ठूलो र धार्मिक रूपमा महत्वपूर्ण यो पर्वका अवसरमा जनकपुरधामका प्रमुख घाटहरूमा तयारी तीव्र रूपमा भइरहेको छ।गङ्गासागर, अरगजासर, दशरथ तलाउ, धनुषसागर, मटकोरवा पोखरीलगायतका घाटहरू अहिले रंगीन सजावट र बत्तीले झलमल भइरहेका छन्।
गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार यस वर्ष पनि विगतझैँ गङ्गासागरको आधा भागमा विशेष सजावट गरिएको छ। उहाँले भने, “घाटको सरसफाइ र सजावट विगतभन्दा अझ राम्रो बनाइएको छ।” गुप्ताका अनुसार यस वर्ष प्रति अर्घ्य ६०० रुपैयाँ निर्धारण गरिएको छ। “सबैले दिनुहुन्न, नदिनेले पनि अर्घ्य राख्छन्। श्रद्धालुहरूबाट आउने रकमले व्यवस्थापनमा लाग्ने खर्च पूरा हुन्छ,” उहाँले बताउनुभयो।
गङ्गासागरमा अहिले पण्डाल निर्माण अन्तिम चरणमा पुगेको छ भने झिलिमिली बत्तीको काम बाँकी रहेको छ। सो घाटको सजावटमा तीनवटा समितिहरू संलग्न छन्। यस्तै, अरगजासर छठ समितिका सचिव वीरेन्द्र कर्णका अनुसार दशैँ सकिएलगत्तै तयारी सुरु गरिएको हो। “अहिले सजावट र सफाइको काम भइरहेको छ,” उहाँले बताए।
कर्णका अनुसार यस पोखरीमा हिन्दू मात्र नभई मुस्लिम समुदायका केही व्यक्तिहरू पनि सहभागी हुने गर्छन्। “घाटमा अर्घ्य राख्नेहरूबाट सहयोगस्वरूप रकम संकलन गरिन्छ, तर त्यसमा कुनै दबाब हुँदैन,” उहाँले स्पष्ट पारे। शान्ति सुरक्षाका लागि स्थानीय प्रशासन र प्रहरीसँग समन्वय गरिएको छ। यस पोखरीमा पाँच हजारभन्दा बढी अर्घ्य राखिने अनुमान गरिएको छ, जुन सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा रहेको समितिले जनाएको छ।
मिथिलाञ्चलमा मनाइने छठपर्व पूर्ण रूपमा घरेलु उत्पादनमा आधारित हुन्छ। सहभागीहरूले आफ्नै खेतबारीमा उत्पादित गहुँ, चामल आदिबाट सामग्री तयार पार्ने र घरकै जाँतोमा पिसेर अन्नको पिठो बनाउने गर्छन्। पर्वका सामग्री खरिद गर्न जनकपुरधामका बजारहरूमा अहिले भीड बढेको छ। बाँस र माटोबाट बनेका घैँटो, हात्ती, टोकरी, नाङ्लो, कनसुपतीलगायतका सामग्रीहरूको बिक्री बढेको व्यापारीहरूले बताएका छन्।
बाँस र माटोका वस्तुहरूलाई शुद्ध र पवित्र मानिने भएकाले यसको माग बढी हुने गरेको छ। चार दिनसम्म मनाइने यो पर्व भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ। आज पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन आइतबार ‘खरना’ गरिनेछ — जसअन्तर्गत दिनभर उपवास बसेर राति खीर बनाई देवतालाई अर्पण गरी खाने चलन छ।
सोमबार मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरिन्छ। यस क्रममा ठेकुवा, भुसवा, केराको घरी, माटोको हात्ती, कलश, सूप, कनसुपतीलगायतका पवित्र सामग्रीहरू प्रयोग गरिन्छ।

