ग्यास अभाव चुलिँदै : विभागद्वारा आयल निगमसँग विस्तृत विवरण माग

काठमाडौँ, २६ फागुन – बजारमा करिब दुई महिनादेखि देखिएको ग्यास अभाव झन् चुलिँदै गएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले नेपाल आयल निगम सँग ग्याससम्बन्धी विस्तृत विवरण माग गरेको छ।

मंगलबार विभागले ग्यासको माग, आपूर्ति, उद्योगको संख्या तथा अभावको कारणबारे जानकारी उपलब्ध गराउन निगमलाई पत्राचार गरेको हो।

विभागका निर्देशक तथा सूचना अधिकारी नरहरि तिवारी का अनुसार ग्यास अभावको समस्या समाधानका लागि मंगलबार विभागमा विभिन्न चरणमा बैठक बसेको थियो। बैठकपछि निगमसँग पछिल्लो एक वर्षको माग र आपूर्तिको मासिक विवरण माग गरिएको उनले बताए।

“हामीले उद्योगको संख्या, उनीहरूलाई दिइएको पीडीओ, काठमाडौं उपत्यकामा ग्यासको माग र आपूर्ति कति छ भन्ने तथ्यांक मागेका छौं,” तिवारीले भने, “गत वैशाखदेखि कुन महिनामा कति ग्यास आपूर्ति भयो भन्ने मासिक विवरण पनि पेश गर्न भनेका छौं।”

उनका अनुसार भोलि बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मा मन्त्रीसहित बैठक बस्ने तयारी छ। सो बैठकमा हालको ग्यास संकट समाधानका लागि ठोस कार्ययोजना सहित उपस्थित हुन आयल निगमलाई निर्देशन दिइएको तिवारीले बताए। निगमलाई ‘संकट व्यवस्थापन योजना’ प्रस्तुत गर्न पनि भनिएको छ।

यसैबीच ग्यासको कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि रोक्न विभागले बजार अनुगमन कडा बनाएको जनाएको छ। विभाग र आयल निगम दुवैका टोली बजार अनुगमनमा खटिएको तिवारीले जानकारी दिए।

उनका अनुसार आयल निगमले बजारमा ग्यास आपूर्तिमा समस्या नभएको दाबी गरे पनि अनुगमनका क्रममा अभाव देखिएको छ। उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले निगरानी र अनुगमन तीव्र बनाएको जनाएको छ।

Facebook Comments Box