शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर, २६ फागुन – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतको शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्स क्षेत्रमा मङ्गलबारदेखि बाघको गणना सुरु गरिएको छ । निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार क्यामेरा ट्र्यापिङ विधिबाट राष्ट्रिय बाघ गणना सुरु गरिएको हो । उहाँले प्रत्येक चार वर्षमा बाघ गणना गरिँदै आएको जानकारी दिनुभयो ।

यसपटक पाँचौँ पटक क्यामेरा ट्र्यापिङ विधिबाट बाघ गणना गर्न लागिएको र उक्त कम्प्लेक्स क्षेत्रमा १५ दिनसम्म सर्वेक्षण गरिनेछ । निकुञ्जका अनुसार बाघको आवतजावत हुने क्षेत्र पहिचान गरी बाटोको दायाँ–बायाँ स्वचालित क्यामेरा जडान गरिएको छ । संरक्षण अधिकृत वाग्लेले क्यामेराबाट खिचिएका तस्बिरका आधारमा बाघको पाटाको बनोट मिलाएर गणना गरिने बताउनुभयो ।

“क्यामेराले खिचेको बाघको पाटा अर्को बाघसँग मिल्दैन,” उहाँले भन्नुभयो । बाघ गणनाका लागि ७७ जनाको प्राविधिक टोली परिचालन गरिएको छ भने आवश्यकताअनुसार हात्तीसमेत प्रयोग गरिने जनाइएको छ । निकुञ्ज क्षेत्रलाई ११ वटा क्याम्पमा विभाजन गरी २६० ग्रिडमा ५२० स्वचालित क्यामेरा जडान गरिएको छ ।

प्रत्येक ग्रिडमा एक जोडी क्यामेरा राखिएको छ । डडेल्धुराको आलिताल, शुक्लाफाँटाको बनखेडा, वेदकोट, चिर्किट्टे, डाँडाजाइ, दोमिल्ला, कालिकिच, कुवा डाँडा, नौला, शुक्ला र तिकेनी क्षेत्रमा विभिन्न ग्रिडमा क्यामेरा जडान गरी गणना कार्य अघि बढाइएको निकुञ्जले जनाएको छ ।

सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार शुक्लाफाँटा क्षेत्रमा ३६ वटा बाघ रहेको थियो भने निकुञ्जको आन्तरिक सर्वेक्षणले हाल ४३ वटा बाघ रहेको देखाएको छ । आहारा प्रजातिको घनत्व बढी भएकाले यहाँ बाघको सङ्ख्या उल्लेख्य रूपमा बढेको संरक्षणकर्मीहरूको भनाइ छ । करीब ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमा कम क्षेत्रफलमा धेरै बाघ पाइने निकुञ्जका रूपमा परिचित छ ।

Facebook Comments Box