भक्तपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आजैदेखि मतगणना सुरु गरिने
भक्तपुर, २१ फागुन – भक्तपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आजैदेखि मतगणना सुरु गरिने भएको छ। भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण परिसरमा तथा क्षेत्र नं २ को मतगणना मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
उनका अनुसार जिल्लाका सबै मतदान केन्द्रबाट मुचुल्का तयार गरी मतपेटिका सम्बन्धित मतगणनास्थलमा ल्याउने कार्य सम्पन्न भइसकेको छ। सर्वपक्षीय बैठक बसेपछि मतगणना प्रक्रिया औपचारिक रूपमा सुरु गरिने जनाइएको छ।
मतगणनास्थलहरूमा तारजाली तथा सिसी क्यामेरासहित सुरक्षा व्यवस्थापन मिलाइएको छ। दुवै स्थानमा एकैपटक चार–चार ‘पकेट’ बनाएर मतगणना गर्ने तयारी गरिएको प्रशासनले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार भक्तपुरका दुई निर्वाचन क्षेत्रअन्तर्गत ७६ मतदानस्थलका २३३ मतदान केन्द्रमा कुल ७१ दशमलव ४६ प्रतिशत मतदान भएको छ।

