निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज बयान लिँदै
काठमाडौँ, १५ भदौ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज बयान लिँदै छ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बुधबार (१५ भदौ) बिहान ११ बजे बस्ने समितिको बैठकमा जबरालाई बोलाइएको छ। समिति गठन भएको करिव ६ महिनापछि गत १ भदौमा समितिको पहिलो बैठक बसेको थियो।
सो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको थियो। महाअभियोग सिफारिस समिति ११ सदस्यीय रहेको छ। एमालेबाट विष्णु पौडेल, कृष्णभक्त पोखरेल, शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डित, कांग्रेसबाट रामबहादुर विष्ट र मीनबहादुर विश्वकर्मा, माओवादीबाट रेखा शर्मा र यशोदा सुवेदी गुरुङ, एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह तथा लोसपाबाट एकबाल मियाँ छन्।

