इरानका सर्वोच्च नेता अली खामेनीको निधन भएको दाबी

तेहरान, १७ फागुन – इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको दाबी गरिएको छ। राज्यनियन्त्रित प्रसारण माध्यमले केही समयअघि खामेनी अब जीवित नरहेको जानकारी सार्वजनिक गरेको बताइएको छ।

यसअघि अमेरिकी राष्ट्रपतिले पनि खामेनी मारिएको दाबी गरेका थिए। अमेरिका र इजरायलले शनिबार इरानमाथि संयुक्त हमला गरेको जनाइएको छ। उक्त आक्रमण खामेनीको निवास क्षेत्रसम्म पुगेको र सोही क्रममा उनको मृत्यु भएको समाचारहरूमा उल्लेख गरिएको छ। यद्यपि, स्वतन्त्र अन्तर्राष्ट्रिय स्रोतबाट यो विवरण पुष्टि भएको छैन।

सन् १९८९ देखि इरानको सर्वोच्च नेतृत्व सम्हाल्दै आएका खामेनी देशको सबैभन्दा शक्तिशाली पदमा रहेका थिए। उनी शाह मोहम्मद रजा पहलवीपछि सबैभन्दा लामो समय शासन गर्ने नेता मानिन्छन्। खामेनी, इरानका इस्लामिक क्रान्तिका नेता रुहोल्लाह खुमेनीका निकट सहयोगी थिए। सन् १९७९ को इस्लामिक क्रान्तिमा उनले सक्रिय भूमिका खेलेका थिए।

शाह शासनको विरोध गर्दा उनी पटक–पटक पक्राउ परेका थिए र केही वर्ष निर्वासनमा समेत बसेका थिए। सर्वोच्च नेता बन्नुअघि उनी इरानको तेस्रो राष्ट्रपतिका रूपमा कार्यरत थिए। इरान–इराक युद्धका बेला उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। साथै इरानी सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर’ सँग उनको सम्बन्ध प्रभावशाली रहेको बताइन्छ। खामेनीलाई कट्टरपन्थी तथा कडा धारका नेताका रूपमा चिनिँदै आएको थियो।

Facebook Comments Box