इरानका सर्वोच्च नेता अली खामेनीको निधन पुष्टि, ४० दिन शोक घोषणा

काठमाडौँ, १७ फागुन  – इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। उनको निधनमा ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको जनाइएको छ। यसअघि अमेरिकी राष्ट्रपतिले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत खामेनी मारिएको दाबी गरेका थिए। तर त्यतिबेला इरानबाट औपचारिक पुष्टि भएको थिएन।

इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार सँगको कुराकानीमा सर्वोच्च नेता सुरक्षित र स्वस्थ रहेको बताएका थिए। तर पछि इरान राज्य टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै खामेनीको निधन भएको र ४० दिन शोक मनाइने घोषणा गरेको जानकारी दिएको BBCले जनाएको छ।

यसैबीच अलजजिराका  अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि खामेनी शनिबार बिहान सबेरै मारिएको जनाएको छ। समाचारमा उनी आफ्नो कार्यालयमा जिम्मेवारी निर्वाह गरिरहेकै बेला आक्रमणमा परेको उल्लेख छ। फार्सका अनुसार सरकारले ४० दिन राष्ट्रिय शोकका साथै सात दिन सार्वजनिक बिदा घोषणा गरेको छ। इरानकै तस्निम न्युज एजेन्सीले समेत खामेनीको मृत्यु पुष्टि गरेको जनाएको छ।

Facebook Comments Box