विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

काठमाडौं, १३ फागुन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एक स्वीडिस नागरिक पक्राउ परेकी छन्।पक्राउ पर्नेमा राहदानी नम्बर एए ३८४६४९१ भएकी ५१ वर्षीया स्वीडिस नागरिक कुन्चोक खान्ड्रो रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। उनलाई अन्तर्राष्ट्रिय प्रस्थान कक्षबाट पक्राउ गरिएको हो।

विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुन्डीराज नेउपानेका अनुसार सिचुआन एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट चीन जान लागेकी खान्ड्रोलाई जाँचका क्रममा शंका लागेपछि खानतलासी गर्दा विदेशी मुद्रा फेला परेको हो।

उनले खैरो रङको साइड ब्यागभित्र विदेशी मुद्रा लुकाइछिपाइ लैजान लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले उनको साथबाट अमेरिकी डलर १० हजार ५००, युरो २६ हजार ७००, चिनियाँ युआन ७ हजार ४०० तथा स्वीडिस क्रोनर ४३ हजार बरामद गरेको जनाएको छ।

पक्राउ परेकी स्वीडिस नागरिकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

Facebook Comments Box