एसियन हाइवेअन्तर्गत आठ किलोमिटर सडकमा कालोपत्र सम्पन्न
झापा, १३ फागुन – निर्माणाधीन ‘एसियन हाइवे’अन्तर्गत काँकडभिट्टा–लौकही सडकखण्डमा विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भएको छ।
काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर खण्डमा सडकको दुवैतर्फ कालोपत्र गर्ने काम भइरहेको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ। पूर्वी खण्ड दमक कार्यालयका आयोजना प्रमुख सुनिलबाबु पन्त का अनुसार हालसम्म चार हजार ५९५ मिटर सडकमा कालोपत्र सम्पन्न भएको छ।
मेचीनगर, बिर्तामोड, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा दायाँतर्फ एक हजार २८० मिटर र बायाँतर्फ दुई हजार ७५५ मिटर लेनमा पहिलो चरणको कालोपत्र गरिएको छ। आयोजनाले आगामी असार मसान्तसम्म ३० किलोमिटर सडकको दुवैतर्फ पहिलो तहको कालोपत्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।
सडक निर्माणसँगै सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन सहज बनाउन मेचीनगरको चारआली चोक र बिर्तामोडको चारपानेमा आधुनिक ओभरपास निर्माण भइरहेको छ।
चारआलीमा पूर्वतर्फ २५१ मिटर र पश्चिमतर्फ २२६ मिटर तथा चारपानेमा पूर्वतर्फ २०७ मिटर र पश्चिमतर्फ ३०८ मिटर लामो ओभरपास निर्माण भइरहेको आयोजनाले जनाएको छ।
त्यसैगरी चारआली जङ्गल क्षेत्रमा हात्तीलगायत वन्यजन्तुको आवागमन सुरक्षित बनाउन ‘एनिमल अन्डरपास’ निर्माण भइरहेको छ। यसलाई नेपालमा सडक पूर्वाधारमा प्रयोग गरिएको वातावरणमैत्री र आधुनिक संरचना मानिएको छ।
एसियाली विकास बैंक को करिब रु १० अर्ब सहयोगमा सञ्चालित यस आयोजनाको ठेक्का एभ्रास्कन कालिका जेभीले लिएको छ। निर्माण कम्पनीले कल्भर्ट तथा साना पुल निर्माणको काम पनि सँगसँगै अघि बढाएको जनाएको छ।
हाल मुख्य सहरी क्षेत्रमा करिब ४०० वटा विद्युत्का पोल सार्न बाँकी रहेकाले काममा केही चुनौती देखिएको छ। आयोजना कार्यालयका अनुसार नेपाल विद्युत् प्राधिकरण सँग समन्वय भइरहेको र पोल सारिएपछि निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ।
काँकडभिट्टादेखि लौकहीसम्मको ९५.७६ किलोमिटर लामो यो राजमार्ग सहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको हुने छ। आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि दमक र इटहरीमा छुट्टाछुट्टै आयोजना कार्यालय स्थापना गरी काम अघि बढाइएको छ।

