प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ, १९ माघ – प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता र मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु गरेको छ। निर्वाचनका बेला राजनीतिक दल तथा सञ्चारमाध्यमबाट हुन सक्ने आचारसंहिता उल्लङ्घनका घटना न्यूनीकरण गर्ने उद्देश्यले आइतबार अभियान थालिएको हो।

यसैसँगै नेपाल पत्रकार महासङ्घले जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोगसम्बन्धी राष्ट्रिय अभियान पनि धादिङबाटै सुरु गरेको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले निर्वाचनका समयमा आचारसंहिता पालना, अनलाइन, रेडियो, टेलिभिजन र पत्रपत्रिकाले निर्वाह गर्नुपर्ने जिम्मेवार मिडियाको भूमिका तथा सञ्चारकर्मीले निष्पक्षता, सन्तुलन र सत्यतामा आधारित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न पत्रकार आचारसंहिताको पालना अनिवार्य रहेको बताउनुभयो। सञ्चारमाध्यम र सञ्चारकर्मी जिम्मेवार भए नागरिक पनि सशक्त हुने उल्लेख गर्दै उहाँले निर्वाचनका बेला कसैको पक्ष वा विपक्षमा नबोल्न र नागरिकलाई सचेत गराउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रममा सूचना विभागका महानिर्देशक छविन्द्र पराजुली, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरू शान्तराम विडारी, भीमलाल श्रेष्ठ, नकुल अर्याल, बालकृष्ण अधिकारी, पदमराज जोशी, कुमारीनिमा काफ्ले, विजयराज अधिकारी र केशवशरण लामिछानेलगायतले निर्वाचनका क्रममा सञ्चारकर्मी र मिडियाले ध्यान दिनुपर्ने विषयमा धारणा राखेका थिए।

यसैबीच, नेपाल पत्रकार महासङ्घ धादिङले विभिन्न विधामा चार जना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ। राजेन्द्रप्रताप शाह स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार केशव अधिकारीलाई १५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ। सीतारामप्रसाद वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार पत्रकार पोषणाथ अधिकारी, विकास पत्रकारिता पुरस्कार पत्रकार राजन अधिकारी तथा शालिकराम वर्मा स्मृति पुरस्कार पत्रकार रामबहादुर ठकुरीलाई प्रदान गरिएको हो।

त्यसैगरी, नेपाल पत्रकार महासङ्घ धादिङले आफ्नो आधिकारिक वेबसाइट (www.fnj.org) को विधिवत शुभारम्भ पनि गरेको छ। वेबसाइटमा महासङ्घका गतिविधि, इतिहास, सदस्य तथा सञ्चारसंस्थासम्बन्धी विवरण समेटिएको छ।

Facebook Comments Box