सम्भावित डुबान र कटान जोखिम न्यूनीकरणका लागि बक्स कल्भर्ट निर्माण गर्दै कामपा

काठमाडौँ, १६ माघः काठमाडौँ महानगरपालिकाले बर्खायाममा हुने सम्भावित डुबान र कटानको जोखिम कम गर्न बागबजार र बबरमहल क्षेत्रमा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिका सार्वजनिक निर्माण विभागका सबइन्जिनियर दीपकबहादुर शाहीका अनुसार पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडकखण्डअन्तर्गत टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिनेछ ।

उक्त कल्भर्ट निर्माणका लागि रु ५७ लाख ७२ हजार ६९४ को सम्झौता भइसकेको उहाँले जानकारी दिनुभयो । निर्माण कार्य आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण पक्षसँग सम्झौता गरिएको छ । कल्भर्ट सडकतर्फ पाँच मिटर र पानी बहावतर्फ १४ मिटर लम्बाइको हुनेछ ।

हाल सो स्थानमा पानी निकासका लागि राखिएका ह्युमपाइप पुराना भइसकेकाले बर्खायाममा पानीको बहाव अवरुद्ध हुँदै आएको शाहीले बताउनुभयो । “बर्खाको समयमा पानीको बहाव रोकिने समस्या देखिएकाले सम्भावित डुबान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो,” उहाँले भन्नुभयो ।

कल्भर्ट निर्माण सुरु भएपछि सो सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने जनाइएको छ । डिल्लीबजार–पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने तथा रामशाहपथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिँदै बागबजार जाने सवारीसाधनका लागि वैकल्पिक मार्गको व्यवस्था गर्न ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरिएको शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवैतर्फबाट आउने सवारीसाधनका लागि कमलादी मोड हुँदै कमलादी गणेश मन्दिर–घण्टाघरतर्फको सडक उपयुक्त वैकल्पिक मार्ग हुनेछ ।

यसैगरी, धोबीखोला नदीखण्डअन्तर्गत दोभान नपुग्दै रोजबर्ड स्कुल नजिक पनि बक्स कल्भर्ट निर्माण गरिने भएको छ । उक्त कल्भर्ट निर्माणका लागि रु दुई करोड २१ लाख २३ हजार ८९९ को सम्झौता गरिएको छ । निर्माण कार्य २०८३ पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो कल्भर्टको लम्बाइ १७ मिटर र चौडाइ सात मिटर हुनेछ ।

सो स्थानमा रहेको फलामे पुल २०८० सालमा आएको धोबीखोलाको बाढीले जगसहित क्षति पुगेपछि सवारी आवागमनमा समस्या हुँदै आएको थियो । वडा नं ११ का अध्यक्ष हीराला तण्डुकारले पुल पुनर्निर्माणका लागि विभिन्न निकायसँग पहल गरिए पनि काम अघि नबढेपछि महानगरपालिकाको केन्द्रीय बजेटबाट बक्स कल्भर्ट निर्माण हुन लागेको जानकारी दिनुभयो ।

Facebook Comments Box