‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
लेनडाँडा (मकवानपुर), १६ माघ – राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत नाघेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाको समष्टिगत भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको छ ।
आयोजनाअन्तर्गत महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा निर्माण गरिने सातमध्ये पाँचवटा सुरुङ हाल निर्माणाधीन अवस्थामा छन् । नेपाली सेना सडक निर्माण आयोजना कार्यदलका अनुसार मकवानपुरको धेद्रे र लेनडाँडामा निर्माण भएका दुईतर्फी चारवटा सुरुङको ‘ब्रेक–थ्रु’ सम्पन्न भइसकेको छ ।
सेनाका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म थप दुई जोडी सुरुङ ब्रेक–थ्रु गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । ती सबै सुरुङको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेको छ ।
ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ र मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्व–पश्चिम राजमार्गमा जोडिने यो द्रुतमार्गको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ । पहाडी क्षेत्रमा २५ मिटर र तराई क्षेत्रमा २७ मिटर चौडाइको यो मार्ग ललितपुरमा नौ, काठमाडौँमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर फैलिएको छ ।
द्रुतमार्गअन्तर्गत साना तथा ठूला गरी ८९ वटा पुल निर्माण गरिनेछन् । हालसम्म काठमाडौँको धरहराभन्दा अग्ला, अधिकतम ८२ मिटर उचाइसम्मका विशेष प्रकृतिका १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा छन् ।
बाँकी चार स्थानमा पुल निर्माणका लागि जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको आयोजना कार्यदलले जनाएको छ । निर्माणाधीन पुलमध्ये ५४ वटाको फाउन्डेसन र ३४ वटाको सब–स्ट्रक्चर सम्पन्न भइसकेको छ । विशेष प्रकृतिका पुलहरू एकैसाथ तीव्र गतिमा निर्माण भइरहेकाले आयोजना तोकिएको समयमै सम्पन्न हुने सुनिश्चित भएको सेनाले जनाएको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ती पुलहरूको कुल लम्बाइ १२.८८५ किलोमिटरभन्दा बढी हुनेछ । यसैगरी, आयोजनाअन्तर्गत ११ किलोमिटर सडकमा सब–बेस तथा सर्भिस लेनको काम सम्पन्न भइसकेको छ भने पाँच किलोमिटर सडक कालोपत्र गरिएको छ ।
निजगढ क्षेत्रमा टोल प्लाजा भवन निर्माण सम्पन्न भइसकेको छ र इन्टरचेन्ज निर्माणको काम भइरहेको छ । खोकना, बुदुने र निजगढमा इन्टरचेन्ज रहने जनाइएको छ । आयोजनाका लागि आवश्यक १५ हजार ४१६ रोपनीमध्ये खोकना क्षेत्रबाहेक अन्य सबै क्षेत्रमा जग्गा अधिग्रहण सम्पन्न भइसकेको छ ।
राजधानीलाई छोटो दूरीमा तराईसँग जोड्ने ‘एसियन हाइवे स्ट्यान्डर्ड’को रणनीतिक महत्व बोकेको यो देशकै पहिलो द्रुतमार्ग हो । फास्ट ट्र्याक निर्माणको प्रारम्भिक अनुमानित लागत रु दुई खर्ब १३ अर्ब रहेको छ । आयोजना २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाली सेनाले जनाएको छ ।
द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौँबाट मध्यतराई करिब एक घण्टामै पुग्न सकिने अपेक्षा गरिएको छ । यसले यात्रा समय घटाउने मात्र नभई ढुवानी सहज बनाउँदै मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
द्रुतमार्ग निर्माणमा हालसम्म हासिल भएको प्रगति अवलोकन गर्न आउने जो–कोहीलाई पनि उत्साहित बनाउने खालको रहेको सेनाको भनाइ छ । यस आयोजनालाई मुलुकको आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउने रूपान्तरणकारी परियोजनाका रूपमा हेरिएको छ ।
यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले मङ्गलबार आयोजनास्थलको निरीक्षण गर्दै स्थानीयको भावना, धार्मिक आस्था र सांस्कृतिक सम्पदामा असर नपर्ने गरी द्रुत गतिमा काम अघि बढाउन निर्देशन दिनुभएको थियो ।
सुरुआती चरणमा द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृतिमा ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्ले २०७४ वैशाख २१ गते आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो भने डिपिआर २०७६ भदौ १ गते स्वीकृत भएको थियो । अन्तरराष्ट्रियस्तरको द्रुतमार्ग निर्माणबाट प्राप्त अनुभवले देशमा सडक सञ्जाल विस्तारमा राज्यको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

