अमेरिकामा रहेका नेपालीलाई विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका), १६ माघ  – संयुक्त राज्य अमेरिकामा विभिन्न उद्देश्यले बसोबास गरिरहेका नेपाली नागरिकलाई अमेरिकाको कानुनअनुसार विधिसम्मत गतिविधि गर्न वाशिङ्टनस्थित नेपाली दूतावासले अपिल गरेको छ ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाटका सिलसिलामा अमेरिकामा रहेका कुनै पनि विदेशी नागरिकले अवैधानिक तरिकाले वा गलत सूचना तथा विवरण पेस गरी अमेरिकी सरकारले आफ्ना नागरिकका लागि उपलब्ध गराउने सहुलियत लिने कार्य नगर्न अनुरोध गरेको छ ।

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने सहुलियतपूर्ण स्वास्थ्योपचार, आवास, परिवार सहायता तथा शैक्षिक सहायताजस्ता कुनै पनि सुविधामा अवैधानिक रूपमा निर्भर भएको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रिनकार्ड स्टाटसमा प्रत्यक्ष असर पर्नुका साथै रद्दसमेत हुन सक्ने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको छ ।”

विज्ञप्तिमा सन् २०२४ मा मात्र अमेरिकी सरकारका सहुलियतपूर्ण सेवाहरू लिने विदेशी नागरिकहरूको सूचीमा नेपाली नागरिक उच्च स्थानमा रहेको पाइएकाले नेपाली नागरिकका लागि हाल आप्रवासी भिसा बन्द गरिएको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना जारी गरेको स्मरण गराइएको छ ।

दूतावासले विभिन्न उद्देश्यले संयुक्त राज्य अमेरिकामा रहेका नेपाली नागरिकलाई गैरकानुनी तवरले वा गलत विवरण पेस गरी सहुलियतपूर्ण स्वास्थ्योपचार, आवास, परिवार सहायता तथा शैक्षिक सहायताजस्ता कुनै पनि सुविधा वा सहायतामा निर्भर नहुन हार्दिक अनुरोध गरेको छ ।

यसैगरी, व्यापारिक तथा पर्यटकीय प्रयोजनका लागि जारी गरिने ‘बी–१’ र ‘बी–२’ भिसाको दुरुपयोग नगर्न पनि दूतावासले आग्रह गरेको छ । पछिल्ला दिनमा अमेरिकी सरकारले विभिन्न प्रयोजनका भिसामा थप कडाइ गर्दै प्रावधानहरू कडा बनाउँदै गएको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box