प्रतिनिधिसभा निर्वाचन ४५ दिन बाँकी रहँदा आचारसंहिता लागू

काठमाडौँ, ५ माघ – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार आचारसंहिता स्वीकृत भई नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ र आयोगबाट अर्को सूचना जारी नभएसम्म लागू रहनेछ । आचारसंहिता नेपाल सरकार तथा प्रदेश सरकार, सम्बन्धित मन्त्री, संवैधानिक निकाय र तिनका पदाधिकारी, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीलाई लागू हुनेछ ।

यसैगरी स्थानीय कार्यपालिका र त्यसका सदस्य, राजनीतिक दल तथा तिनका भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधि पनि आचारसंहिताको दायरामा परेका छन् ।

सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था र पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, शैक्षिक संस्था र तिनका कर्मचारीसमेत आचारसंहिताको पालनामा बाध्य हुने आयोगले जनाएको छ ।

त्यसैगरी मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्र, वस्तु तथा सेवा प्रदायक संस्था तथा आयोगले तोकेका अन्य निकाय र व्यक्तिलाई समेत आचारसंहिता लागू हुनेछ ।

आचारसंहिताको पूर्ण कार्यान्वयन र पालना सुनिश्चित गर्न सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

Facebook Comments Box