काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती
काठमाडौँ, ३० पुस – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा केही समय विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका तीन वटा फिडरमा बिजुली कटौती हुने जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार गणेशस्थान, भङ्गाल र शिवपुरी फिडर मातहतका क्षेत्रमा विद्युत् कटौती हुनेछ । फिडरको भार व्यवस्थापन गर्न तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर जडान र भूमिगत तार चार्ज गर्ने कार्यका लागि बिजुली कटौती गर्न लागिएको जनाइएको छ ।
सूचनाअनुसार गणेशस्थान फिडरअन्तर्गत भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रमा आज बिहान ११ः३० बजेदेखि अपराह्न १ः३० बजेसम्म विद्युत् कटौती हुनेछ । त्यस्तै भङ्गाल फिडरअन्तर्गत तल्लो भङ्गाल, धोविखोला करिडोरलगायत क्षेत्रमा बिहान ११ः३० बजेदेखि अपराह्न १ः०० बजेसम्म बिजुली नआउनेछ ।
यसैगरी शिवपुरी फिडरअन्तर्गत बुढानिलकण्ठ नगरपालिका–पासिकोट, च्यासिङडोललगायत क्षेत्रमा दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म विद्युत् कटौती हुने सूचनामा उल्लेख छ । निर्धारित कार्य समयअगावै सम्पन्न भएमा तोकिएको समयभन्दा पहिले नै विद्युत् आपूर्ति नियमित गरिने प्राधिकरणले जनाएको छ ।

