त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन जारी
तनहुँ, २८ पुस – तनहुँको आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन कार्य जारी रहने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन सुरु गरिएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर उत्खनन कार्य गरेका थिए । आज पनि सोही कार्यलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः४५ बजे त्रिशूली नदी किनारमा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो ।
फेला परेको बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल क्षेत्रमा पहिरोमा परेर त्रिशूली नदीमा खसेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले सो जानकारी दिनुभयो ।
सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई जना र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ । बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो । हाल उत्खनन कार्यसँगै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

