कोशी प्रदेशका स्टार्टअप उद्यममा दुई अर्ब ५६ करोड लगानी

काठमाडौँ, २२ पुस – कोशी प्रदेशका स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्ष उमेर समूहका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदन अनुसार स्टार्टअप क्षेत्रमा कुल रु दुई अर्ब ५६ करोड लगानी भएको छ।

कुल लगानीमध्ये ३८ दशमलव ७ प्रतिशत ऋण लगानी रहेको छ भने ६१ दशमलव ३ प्रतिशत स्वपुँजी (इक्विटी) रहेको अध्ययनमा उल्लेख छ। उमेर समूहअनुसार हेर्दा २१ देखि ३५ वर्ष उमेर समूहका उद्यमी ३९ दशमलव ३ प्रतिशत, ३६ देखि ५० वर्ष उमेर समूहका ४४ दशमलव ४ प्रतिशत र ५० देखि ७० वर्ष उमेर समूहका १६ दशमलव २ प्रतिशत रहेका छन्।

अध्ययनका अनुसार २१ देखि ३५ वर्ष उमेर समूहका उद्यमीमध्ये सबैभन्दा बढी ७३ दशमलव ३ प्रतिशत सूचना प्रविधि क्षेत्रमा संलग्न छन् भने सबैभन्दा कम २१ दशमलव २ प्रतिशत कृषि क्षेत्रमा आवद्ध छन्। युवापुस्ताले डिजिटल तथा प्रविधिमा आधारित उद्यममा बढी रुचि देखाएको अध्ययनले देखाएको छ।

त्यसैगरी, ३६ देखि ५० वर्ष उमेर समूहका उद्यमी सबैभन्दा बढी कृषि क्षेत्रमा संलग्न रहेका छन् भने यस उमेर समूहको सबैभन्दा कम सहभागिता सूचना प्रविधि क्षेत्रमा (२६ दशमलव ७ प्रतिशत) देखिएको छ। ५० देखि ७० वर्ष उमेर समूहका उद्यमीमध्ये सबैभन्दा बढी २७ दशमलव ३ प्रतिशत पर्यटन क्षेत्रमा संलग्न छन् भने सूचना प्रविधि क्षेत्रमा यस उमेर समूहको कुनै पनि सहभागिता नरहेको अध्ययनमा उल्लेख गरिएको छ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दर्ता गरी ‘सर्टलिस्ट’ भएका कोशी प्रदेशका उद्यमहरूको सङ्ख्यालाई आधार मानी १६० वटा स्टार्टअप उद्यमबाट तथ्याङ्क सङ्कलन गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अध्ययनमा समावेश १६० उद्यममध्ये कृषि तथा वनजन्य क्षेत्रका ४१ दशमलव ३ प्रतिशत, उत्पादनमूलक १८ दशमलव १ प्रतिशत, सेवामूलक १७ दशमलव ५ प्रतिशत, पर्यटन १३ दशमलव ८ प्रतिशत र सूचना प्रविधि क्षेत्रका ९ दशमलव ४ प्रतिशत उद्यम रहेका छन्।

Facebook Comments Box