माघ १६ देखि २० गतेसम्म देशभरका विद्यालयमा कोरोनाविरुद्धको खोप अभियान चलाइने

काठमाडौँ, ४ माघ – यही माघ १६ देखि २० गतेसम्म देशभरका विद्यालयमा कोरोनाविरुद्धको खोप अभियान चलाइने भएको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा कोभिड–१९ को फैलावट रोक्न र खोप अभियान तीव्र बनाउन सरोकारवाला मन्त्रालयका प्रतिनिधिबीच बसेको बैठकले यो निर्णय लिएको हो।

बैठकमा कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्ने सहमति बनेको छ। सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको थियो।

लक्षित वर्गलाई कोभिड-१९ विरुद्ध बुस्टर डोज पुर्‍याउने विषयमा पनि छलफल भएको छ। बैठकले देशभरका विद्यालयमा माघ १६ गतेदेखि २० गतेसम्म कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले बताए।

‘यही माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय भएको छ। त्यो समयमा हामीले विद्यालयमा खोप अभियान चलाउने निर्णय गरेका छौँ,’ सहसचिव कोइरालाले भने, ‘हामीले निर्णय गरेका छौँ। सम्बन्धित मन्त्रालयले सूचना जारी गरे। कार्यान्वयनमा जान्छ।’

त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ। त्यो सर्कुलर सम्बन्धित मन्त्रालयले विश्वविद्यालयहरूमा गर्नेछन्।

Facebook Comments Box