कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने : मुख्यमन्त्री कार्की

मोरङ, १७ पुस – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार छिट्टै पुनर्गठन गरिने बताउनुभएको छ। प्रेस चौतारी नेपाल मोरङद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण समारोहमा उहाँले सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेताहरूसँग छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेतासमेत रहनुभएका मुख्यमन्त्री कार्कीले आगामी संसदीय निर्वाचनबाट आफ्नो पार्टी नभाग्ने बताउँदै निष्पक्ष र भयरहित वातावरणमा मतदान हुने अवस्था सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

उक्त कार्यक्रममा मुख्यमन्त्री कार्कीले एमालेको ११औँ महाधिवेशनबाट मोरङका केन्द्रीय सदस्यमा निर्वाचित जीवन घिमिरे, ऋषिकेश पोखरेल, दिलीप अग्रवाल र पर्शुराम बस्नेतलाई बधाई ज्ञापन गर्नुभयो।

त्यसैगरी, यस वर्षको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट उदयपुरको कटारीकी रेणु पराजुलीलाई रु २१ हजार नगदसहित सम्मानित गरिएको छ।

कार्यक्रममा चौतारी मोरङका अध्यक्ष चीना थापा, इन्चार्ज सुमन सुस्केरा, उपाध्यक्ष जुनु भट्टराईलगायतले समाजका पछाडि परेका वर्गको उत्थानमा सञ्चारकर्मीले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

Facebook Comments Box