तत्कालीन गृहमन्त्री लेखकको भ्रमण प्रतिबन्ध फुकुवा
काठमाडौँ, १७ पुस – गत भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण प्रतिबन्ध फुकुवा गरेको छ।
आयोगको आज बसेको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा लगाइएको रोक्का तथा स्वीकृति बिना काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिनुभयो।
आयोगले सो निर्णयको जानकारी गराउँदै आज गृह मन्त्रालयलाई पत्र पठाएको छ। उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रहरी प्रधान कार्यालय र स्वयं लेखकलाईसमेत दिइएको छ।
भदौ २३ र २४ गतेको घटनाको छानविन तथा जाँचबुझका क्रममा अनुसन्धानको दायरामा रहेको भन्दै आयोगले गत असोज १२ गते लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बिना काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको थियो। उक्त घटनासम्बन्धमा तत्कालीन गृहमन्त्री लेखकले केही दिनअघि आयोगसमक्ष बयान दिएका थिए।

