आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौँ, १६ पुस – प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति अवलम्बन गर्दै स्वदेश फर्किनुभएको स्मरणमा आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा विचाराधीन रहेका बेला पनि राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भई बिपी कोइरालाले विसं २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिँदै निर्वासन त्यागेर स्वदेश फर्कनुभएको थियो ।

नेपाली कांग्रेसका संस्थापक नेता कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थी लगायत नेता तथा कार्यकर्ता करिब आठ वर्ष लामो निर्वासित जीवन अन्त्य गरी नेपाल फर्किएका थिए ।

भारत निर्वासनका क्रममा सिक्किम भारतमा विलय भएको घटनालगायत क्षेत्रीय राजनीतिक परिस्थितिलाई नजिकबाट नियालेपछि राष्ट्रियता कमजोर नहोस् भन्ने उद्देश्यले उनीहरूले एकता र मेलमिलापको नीति अघि सारेका थिए ।

विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रद्वारा गरिएको शाही ‘कु’ पछि प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसपछि फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनल प्रमुखको निवास परिसरलाई बन्दीगृह बनाई उहाँलाई त्यहाँ सारिएको थियो ।

आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि रिहा भई भारत जानुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक गतिविधि सुरु गर्नुभएको थियो । भारत–पाकिस्तान विभाजन र एसियाका अन्य मुलुकमा देखिएको विखण्डनको पृष्ठभूमिमा राष्ट्रिय एकता आवश्यक रहेको निष्कर्षसहित ४९ वर्षअघि आजकै दिन उहाँ स्वदेश फर्कनुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै कोइराला, गणेशमान सिंहलगायत नेताहरूलाई पुनः सुन्दरीजल बन्दीगृहमा राखिएको थियो । विसं २०३४ जेठ २७ गते उपचारका लागि बाहिर जाने सर्तमा उहाँलाई रिहा गरियो । पछि प्रहरी तालिम केन्द्र महाराजगञ्जमा पनि केही समय बन्दी बनाइयो । सुन्दरीजलस्थित २४ रोपनी क्षेत्रफलको बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा रूपान्तरण गरिएको हो ।

सुन्दरीजल बन्दीगृहमा रहँदा बिपी कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास तथा ‘आफ्नो कथा’ आत्मजीवनी र ‘जेल जर्नल’ लेख्नुभएको थियो । उहाँ नेपाली साहित्यमा यौन मनोवैज्ञानिक धाराका प्रवर्तकका रूपमा पनि परिचित हुनुहुन्छ ।

दिवसका अवसरमा आज नेपाली कांग्रेस तथा यसका भ्रातृ र शुभेच्छुक संस्थाहरूले देशभर विविध कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । बिपी सङ्ग्रहालयले पनि विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ । यद्यपि, हरेक वर्ष मनाइने पुस १६ को यो दिवस औपचारिकतामा सीमित हुने गरेको टिप्पणीसमेत हुँदै आएको छ ।

Facebook Comments Box