त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह सम्पन्न, १६ हजार ३८० विद्यार्थी दीक्षित

काठमाडौँ, १० पुस – त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज काठमाडौँमा सम्पन्न भएको छ । विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना विद्यार्थी आज दीक्षित भएका हुन् ।

समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक उपाधि प्रदान गरिएको थियो । दीक्षित हुनेमध्ये स्नातक तहका ११ हजार २३४, अधिस्नातक १४, स्नातकोत्तर तहका चार हजार ८६०, दर्शनाचार्य (एमफिल) का १२० तथा विद्यावारिधिका १५२ विद्यार्थी रहेका छन् । विभिन्न सङ्कायमा सर्वोच्च नतिजा हासिल गर्ने २२ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले ज्ञानलाई सेवासँग, सीपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न आग्रह गर्नुभयो । चार लाखभन्दा बढी विद्यार्थी अध्ययनरत त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक–विद्यार्थीको सन्तुलित अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु चुनौतीपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रमुख अतिथिका रूपमा सहभागी सन् २०१५ का भौतिक शास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक डा ताकाआकी काजिताले विद्यावारिधि पश्चात् पनि निरन्तर अध्ययन, अनुसन्धान र खोजलाई निरन्तरता दिएकै कारण आफूमा नोबेल पुरस्कार प्राप्त गर्न सक्ने क्षमता विकास भएको बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति महावीर पुनले आगामी विश्वले डिग्रीभन्दा बढी सीप र क्षमताको मूल्याङ्कन गर्ने उल्लेख गर्दै आफूले हासिल गरेको ज्ञान र सीप समाज परिवर्तनका क्षेत्रमा प्रयोग गर्न विद्यार्थीलाई प्रेरित गर्नुभयो ।

उपकुलपति प्राडा दीपक अर्यालले दीक्षान्तलाई विद्यार्थीको उज्वल भविष्यको सुरुवातको बिन्दुका रूपमा व्याख्या गर्दै विश्वविद्यालयमा आर्जन गरेको सैद्धान्तिक ज्ञान व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments Box