निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत
काठमाडौँ, ७ पुस – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेद्वारको बन्दसूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको नयाँ व्यवस्थाबमोजिम दलहरूले उम्मेद्वारको बन्दसूची पेस गर्नुपर्नेछ। आयोगले समानुपातिक प्रणालीका लागि आवेदन दिएका दललाई निर्देशिकाअनुसार सूची तयार गर्न आग्रह गरेको छ।
दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम समुदायको जनसङ्ख्या प्रतिशतका आधारमा उम्मेद्वारको नाम समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय जनगणना २०७८ का तथ्याङ्कका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–१ मा आवश्यक संशोधन गरिएको आयोगले जनाएको छ।
संशोधित कानुनी व्यवस्थाअनुसार समानुपातिक उम्मेद्वारको बन्दसूचीमा दलित १३ दशमलव ४४ प्रतिशत, आदिवासी जनजाति २८ दशमलव ७२ प्रतिशत, खस आर्य ३० दशमलव २८ प्रतिशत, मधेसी १६ दशमलव १५ प्रतिशत, थारु छ दशमलव ५२ प्रतिशत र मुस्लिम चार दशमलव ८९ प्रतिशत कायम गर्नुपर्नेछ।
बन्दसूचीमा प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। कूल सिट सङ्ख्याको ५० प्रतिशत गणना गर्दा महिलाको सङ्ख्या दशमलवमा आएमा सोभन्दा माथिल्लो पूर्ण सङ्ख्यामा गोल गरेर नाम समावेश गर्नुपर्नेछ।
यसैगरी उम्मेद्वार सूचीकृत गर्दा कम्तीमा चार दशमलव तीन प्रतिशत पिछडिएका क्षेत्रका उम्मेद्वारको नाम समावेश गर्नुपर्नेछ भने अपाङ्गता भएका व्यक्तिको नामसमेत उल्लेख गरिएको हुनुपर्ने आयोगले जनाएको छ।
बन्दसूची आयोगमा पेस गर्दा सम्बन्धित राजनीतिक दलको केन्द्रीय समितिबाट स्वीकृत भएको निर्णयको प्रमाणित प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। साथै, सूचीमा रहेका प्रत्येक उम्मेद्वारको नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि तथा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेस गर्नुपर्ने व्यवस्था छ।
समानुपातिक उम्मेद्वारका लागि तोकिएको योग्यताअनुसार उम्मेद्वार नेपालको नागरिक हुनुपर्ने, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, २५ वर्ष उमेर पूरा भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ।
समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलले यही पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा पेस गर्नुपर्ने समयसीमा तोकिएको छ।

