दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौँ, ७ पुस – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको भन्दै दुई वटा रेष्टुरेन्टलाई प्रतिएक रु ५० हजारका दरले जरिवाना गरेको छ। उक्त ऐनअनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य र बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था छ।

साथै, उद्योग वा व्यवसाय सञ्चालन गर्दा उद्योग दर्ता प्रमाणपत्र तथा व्यवसाय दर्ता वा इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले स्पष्ट रूपमा देख्ने गरी राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ। यी व्यवस्था पालना नगरेको पाइएपछि विभागले काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जस्थित प्रिया स्वीट एण्ड चाट हाउस र टोखा नगरपालिकास्थित आई क्याफे रेष्टुरेन्ट एण्ड बारलाई कारबाही गर्दै रु ५० हजारका दरले जरिवाना गरेको हो।

यसैगरी विभागले थप १४ वटा उद्योग तथा फर्मको अनुगमन गरी निर्देशनात्मक कारबाहीसमेत गरेको जनाएको छ। पछिल्ला दिनमा बजार अनुगमनलाई तीव्र पार्दै आएको विभागले बजारलाई स्वच्छ राख्न, कालोबजारी नियन्त्रण गर्न तथा अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउन सक्रिय रूपमा काम गरिरहेको जनाएको छ।

Facebook Comments Box