स्पा र होटलबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ, ४ पुस – नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्पा र होटलबाट आठ जना नाबालिकाको उद्धार गरेको छ। नाबालिकालाई यौनजन्य कार्यमा संलग्न गराएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।

ब्यूरोले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार अनुसन्धानका क्रममा नाबालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाइएको पुष्टि भएपछि ती व्यक्तिहरूलाई पक्राउ गरिएको हो। सोही क्रममा होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ निवासी ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद रहेका छन्।

काठमाडौँ उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर, गेस्टहाउस तथा दोहोरी सेन्टरहरूमा आर्थिक लाभ लिई नाबालिकालाई यौनशोषण तथा वेश्यावृत्तिमा लगाइरहेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले काठमाडौँको ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर तथा खप्तड सुदूरपश्चिम गेस्टहाउसबाट ती नाबालिकाको उद्धार गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो।

Facebook Comments Box