उनन्चालीस विद्यालयले राखे नेपालीपन झल्किने नाम
काठमाडौँ, ४ पुस – यस वर्ष काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन्। महानगरपालिकाले गत वर्षदेखि नै गरेको आग्रहलाई आत्मसात् गर्दै ती विद्यालयहरूले नाम परिवर्तन गरेको काठमाडौँ महानगरपालिका शिक्षा विभागले जनाएको छ।
कामपाभित्र हाल आधारभूत विद्यालय २६, माध्यमिक विद्यालय ५८, विशेष विद्यालय चार, वैकल्पिक विद्यालय २३, धार्मिक विद्यालय ११, सामुदायिक सिकाइ केन्द्र २८ र संस्थागत विद्यालय ४२५ गरी कुल ७८४ शैक्षिक संस्था सञ्चालनमा रहेका कामपा शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी दिनुभयो।
त्यसैगरी, शैक्षिक सत्र २०८१ मा काठमाडौँ महानगरपालिकाअन्तर्गतका विद्यालयबाट ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमार्फत अध्ययनको अवसर पाएका छन्। छात्रवृत्ति प्रणालीलाई व्यवस्थित बनाएपछि छात्रा छात्रवृत्तिमा पाँच हजार ८९५, दलित छात्रवृत्तिमा एक हजार ३२२ तथा अपाङ्गता र आवासीय छात्रवृत्तिमा ४५५ जना विद्यार्थी लाभान्वित भएका छन्।
संस्थागत विद्यालयमा कक्षा १ देखि १० सम्म १९ हजार ३०६ जना र कक्षा ११ र १२ मा तीन हजार ८०१ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेको शिक्षा विभागले जनाएको छ। शिक्षा क्षेत्रमा यस वर्षका लागि रु तीन अर्ब २९ करोड ४७ लाख ७७ हजार बजेट विनियोजन गरिएकोमा हालसम्म ५३.८ प्रतिशत अर्थात् रु एक अर्ब ७७ करोड ३४ लाख ४२ हजार खर्च भएको छ।
आन्तरिक नियमित कार्यक्रमतर्फ विनियोजित रु एक अर्ब चार करोड ८५ लाख २७ हजारमध्ये ३० प्रतिशत अर्थात् रु ३१ करोड ५६ लाख पाँच हजार खर्च भएको छ। ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि विनियोजित रु ६० करोडमध्ये रु पाँच करोड एक लाख ६६ हजार अर्थात् ८.४ प्रतिशत खर्च भएको छ।
यस्तै, शिक्षा क्षेत्रका स्वर्णिम योजनाका लागि विनियोजित रु ११ करोड १४ लाखमध्ये रु चार करोड ३२ लाख अर्थात् ३८.८ प्रतिशत खर्च भएको जनाइएको छ। सङ्घीय सशर्त अनुदानतर्फ प्राप्त रु एक अर्ब ४२ करोड ३४ लाख ५० हजारमध्ये ९२.९ प्रतिशत अर्थात् रु एक अर्ब ३२ करोड २२ लाख खर्च भएको कामपाले जनाएको छ।

