मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौँ, २ पुस – अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्र कुनै मार्ग प्रयोग गर्दा कुनै पनि प्रकारको कर वा शुल्क नउठाउने व्यवस्था गर्न प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गरी यस्तो व्यवस्था मिलाउन आग्रह गरेको हो ।

परिपत्रमा स्थानीय कृषक, व्यवसायी तथा व्यवसायमा नकारात्मक आर्थिक असर पर्ने गरी कुनै पनि शुल्क नलगाउने वा नलाग्ने व्यवस्था गर्न स्पष्ट निर्देशन दिइएको छ । अर्थ मन्त्रालयले नेपालको संविधान र प्रचलित कानुनको व्यवस्थाविपरीत स्थानीय तहले अर्को जिल्ला वा स्थानीय तहबाट चलानी भई ढुवानीका लागि मात्र आफ्नो क्षेत्र हुँदै लैजाने मालवस्तुमा कुनै पनि प्रकारको कर, दस्तुर वा शुल्क असुल्न नमिल्ने स्मरण गराएको छ ।

मन्त्रालयका अनुसार, “नेपालको संविधान तथा प्रचलित कानुनविपरीत कुनै पनि कर, दस्तुर वा शुल्क नलगाउने र नलाग्ने व्यवस्था मिलाउन सबै प्रदेश सरकारलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई जानकारी गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने” निर्णय गरिएको छ ।

उक्त निर्णय गत मङ्सिर २३ गते अर्थमन्त्रीस्तरीय निर्णयका रूपमा भएको जनाउँदै आवश्यक कारबाहीका लागि सम्बन्धित सबै निकायलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । केही स्थानीय तहले अर्को स्थानीय तहबाट आएको कृषि उपजमा कर तथा शुल्क असुल गरेको भन्ने जानकारी प्राप्त भएपछि अर्थ मन्त्रालयले यस्तो प्रष्टोक्ति जारी गरेको हो ।

Facebook Comments Box