उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक

काठमाडौँ, २ पुस – पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै भएका घटनाप्रति नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय बैंकले सरकार, राष्ट्र बैंक तथा बैंक–वित्तीय संस्थाको संयुक्त प्रयासमा सबै स्थानीय तहसम्म बैंक तथा वित्तीय सेवाको पहुँच पुगेको उल्लेख गरेको छ ।

यसका कारण सर्वसाधारणले स्थानीयस्तरमै निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा भत्तालगायतका वित्तीय सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अवस्था बनेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ तथा यस बैंकको निर्देशनअनुसार कर्जा प्रवाह गर्ने, प्रवाहित कर्जासम्बन्धी परियोजनाको अनुगमन गर्ने र कर्जा असुलउपर गर्ने कार्य सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख दायित्व हो ।”

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप संकलन गरी कर्जा प्रवाह गर्ने भएकाले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न समस्या उत्पन्न हुने, तरलतामा असर पर्ने र समग्र वित्तीय प्रणाली प्रभावित हुन सक्ने उल्लेख गरिएको छ । त्यसैले ऋणीले लिएको कर्जा नियमित रूपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

यद्यपि, कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा समस्या परेमा नेपाल राष्ट्र बैंकले समय–समयमा पुनरसंरचना तथा पुनरतालिकीकरणलगायतका सहजीकरणका व्यवस्था गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । बैंकिङ कारोबारसम्बन्धी कुनै गुनासो भएमा सम्बन्धित बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकाले ग्राहकले वैधानिक माध्यमबाट गुनासो दर्ता गराई समाधान खोज्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीविरुद्ध गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने र वित्तीय सेवा प्रभावित हुने भएकाले यस्ता गतिविधिमा संलग्न नहुन राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने वा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिँदै राष्ट्र बैंकले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी निर्भीक रूपमा काम गर्न अनुरोध गरेको छ ।

Facebook Comments Box