पोखरा महानगरपालिकाले ६७औँ स्थापना दिवस मनाउँदै
कास्की, २ पुस – पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ । ऐतिहासिक तथ्य र अभिलेखका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै वर्षदेखि स्थापना दिवसका रूपमा मनाउन थालिएको महानगरपालिकाले जनाएको छ । यसअघि पोखराले फागुन २७ गते स्थापना दिवस मनाउँदै आएको थियो ।
महानगर प्रमुख धनराज आचार्यका अनुसार अभिलेख अध्ययन गर्दा विसं २०१६ पुस २ गते पाँच हजार जनसङ्ख्या भएको नगरका रूपमा पोखरा नगरपालिका स्थापना भएको देखिन्छ । स्थापना भएको ३६४औँ दिनमा उक्त नगर पञ्चायतमा परिणत भएको थियो ।
स्थापना दिवसका अवसरमा भाषा तथा साहित्य, कला (सङ्गीत, नृत्य, नाट्य, चित्रकला), शिक्षा, स्वास्थ्य, कृषि तथा उद्यमशीलता, सामाजिक सेवा, खेलकुद, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण, विज्ञान–प्रविधि तथा नवप्रवर्द्धनलगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वमध्येबाट नौ जनालाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरिनेछ ।
नवरत्नलाई जनही नगद रु दुई लाख दुई हजार २०२, ताम्रपत्र, दोसल्ला र पदकसहित सम्मान गरिने महानगर प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान पोखराको चिप्लेढुङ्गाबाट बृहत् सांस्कृतिक झाँकीसहितको प्रभातफेरि सुरु भई पोखरा सभागृहमा पुगेर स्थापना दिवसको मूल समारोह आयोजना हुनेछ । “स्थापना दिवसलाई भव्य रूपमा मनाउने तयारी गरेका छौँ । यसअघि नै सप्ताहव्यापी कार्यक्रम सम्पन्न भइसकेका छन् ।
सभागृहमा हुने मूल समारोहका लागि सबै तयारी पूरा भएको छ,” प्रमुख आचार्यले भन्नुभयो । मूल समारोहमा महानगरपालिकामा कार्यरत कर्मचारीमध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जना कर्मचारीलाई सम्मान गरिनेछ । साथै, ३३ वटै वडामध्ये सरसफाइमा उत्कृष्ट तीन वडा, महानगर मातहतका कार्यालयमध्ये सरसफाइमा उत्कृष्ट कार्यालय र तोकिएको समयमा नियमित तथा सबैभन्दा बढी राजस्व तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गरिने कार्यक्रम छ ।
यसै अवसरमा उमेरको ज्येष्ठताका आधारमा महानगर मातापिता (ज्येष्ठ नागरिक) सम्मान प्रदान गरिनेछ । समारोहमा पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरिएका स्वदेशी तथा विदेशी नगरका प्रमुख तथा प्रतिनिधि, मुलुकका सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख, छिमेकी पालिकाका प्रमुख, पोखरा महानगरपालिकाका पूर्वपदाधिकारी, पूर्वप्रशासकीय अधिकृतलगायत विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरिएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले जानकारी दिनुभयो ।
स्थापना दिवसका दिन महानगरपालिका तथा मातहतका कार्यालयहरूको नियमित सेवा प्रवाह बन्द रहने जनाइएको छ । इतिहासअनुसार विसं २०१६ पुस २ गते स्थापना भएको पोखरा नगरपालिका विसं २०५२ माघ १८ गते उपमहानगरपालिका घोषणा गरिएको थियो ।
त्यसपछि विसं २०७३ फागुन २७ गते साविकका पाँच गाविस र लेखनाथ नगरपालिकासहित पोखरा लेखनाथ महानगरपालिका घोषणा भएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७५ साउन २३ गतेको निर्णयअनुसार नाम संशोधन भई पोखरा महानगरपालिका कायम गरिएको हो । सो निर्णय विसं २०७५ भदौ २५ गते राजपत्रमा प्रकाशित भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।

