बाँकेमा तेलहन बाली उत्पादन वर्षैपिच्छे घट्दै
बाँके, २१ मङ्सिर – बाँकेका किसानले तेलहन बालीको खेतीमा चासो घटाउँदै लगेपछि बर्सेनि उत्पादनमा गिरावट देखिन थालेको छ। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सन्तोष पाठकका अनुसार तोरीखेती केही क्षेत्रमै कायम रहे पनि अन्य तेलहन बालीको खेतीमा कमी आउँदा कुल उत्पादन प्रभावित बन्दै गएको छ।
आर्थिक वर्ष २०८१/८२ मा छ हजार ५३० हेक्टरमा गरिएको तोरीखेतीबाट पाँच हजार ६४८ मेट्रिक टन उत्पादन भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब १४.४१ प्रतिशतले कम हो। जिल्लामा कुल सात हजार २५६ हेक्टरमा तेलहन बालीहरूको खेती हुँदै आए पनि तोरी बाहेक सर्सो, रायो, सूर्यमुखी, तिल, बदाम र आलसको क्षेत्रफल अत्यल्प छ।
अहिले सर्सो ३५ हेक्टर, रायो १५ हेक्टर, सूर्यमुखी एक हेक्टर, तिल १५ हेक्टर, बदाम ६१५ हेक्टर र आलस ४५ हेक्टरमा मात्र खेती हुने गरेको केन्द्रले जनाएको छ। सूचना अधिकारी पाठकका अनुसार हिउँदे वर्षा नपर्नु, उन्नत जातका बीउको प्रतिस्थापन दर कम हुनु र किसान अन्य तेलहन बालीतर्फ आकर्षित नहुनुले उत्पादनमा गिरावट ल्याएको छ।
नेपालगञ्ज–२२ का अगुवा किसान चक्र बुढा उत्पादन घट्दै जाने क्रम रोक्न उन्नत जातका बीउ उपलब्ध गराउने, सिँचाइको पहुँच सुधार गर्ने र किसानलाई अन्य तेलहन बालीको महत्वबारे प्रोत्साहन तथा तालिम प्रदान गर्नुपर्ने बताउँछन्।तेलहन बालीमा निरन्तर गिरावट जारी रहिरहेसँगै तेल आयातमा निर्भरता बढ्ने र स्थानीय बजारमा मूल्यवृद्धि हुन सक्ने भएकाले स्थानीय तथा प्रदेश सरकारले विशेष कार्यक्रममार्फत किसानलाई प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको छ।

