रासायनिक मल आयातको वर्तमान अवस्था यस्तो

काठमाडौँ, २१ मङ्सिर – सरकारले चालु आर्थिक वर्षका लागि पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्यसहित हालसम्म चार लाख ६५ हजार मेट्रिक टन मलका लागि बोलपत्र प्रक्रिया पूरा भएको जनाएको छ। सरकारले रासायनिक मल आयातका लागि यस वर्ष करिब रु २८ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मंसिर दोस्रो सातासम्म दुई लाख ६६ हजार पाँच सय १० मेट्रिक टन मल आपूर्तिको चरणमा छ। यसमध्ये कृषि सामग्री कम्पनीले एक लाख ८० हजार चार सय ९१ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनले ८६ हजार १६ मेट्रिक टन मल आयात गरिरहेको छ।

कृषि सामग्री कम्पनीले ८८ हजार दुई सय १३ मेट्रिक टन युरिया र ९२ हजार दुई सय ७८ मेट्रिक टन डीएपी आयात प्रक्रियामा राखेको छ। त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशनले २४ हजार चार सय ९८ मेट्रिक टन युरिया, ५३ हजार सात सय ९५ मेट्रिक टन डीएपी र सात हजार सात सय २५ मेट्रिक टन पोटास आयात गरिरहेको मन्त्रालयले जनाएको छ।

जिल्ला तथा स्थानीय तहमा वितरणका लागि गोदामहरूमा हाल ८६ हजार तीन सय ३३ मेट्रिक टन मल मौज्दात रहेको छ। मौज्दातमध्ये कृषि सामग्री कम्पनीसँग ५७ हजार आठ सय १८ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनसँग २८ हजार पाँच सय १४ मेट्रिक टन उपलब्ध छ।

यस्तै, बाह्य मुलुकबाट भित्रिन विभिन्न मार्गमा एक लाख २० हजार पाँच सय ९७ मेट्रिक टन मल रहेको मन्त्रालयले जनाएको छ। खेतीपातीका लागि आवश्यक मल सहज र नियमित रूपमा उपलब्ध गराउन सरकार आवश्यक सबै प्रक्रिया अघि बढाइरहेको मन्त्रालयको भनाइ छ।

Facebook Comments Box