चितवनको माडी–ठोरी सडकखण्डमा अलपत्र पुलको ठेक्का तोडियो

 काठमाडौं, १२ मंसिर – चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा वर्षौँदेखि अलपत्र रहेको ४१ मिटर लामो पुल निर्माणको ठेक्का सरकारले तोडेको छ। हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय, वीरगञ्जले आज सार्वजनिक सूचना जारी गर्दै ठेक्का तोडिएको जानकारी दिएको हो।

ठेक्का लोहनी एण्ड ब्रदर्श प्रालि, भरतपुरले पाएको थियो। तर कम्पनीले काम सुरु नगरी सम्पर्कमा नआएको कारण ठेक्का तोडिएको निर्देशनालयले जनाएको छ। सूचनामा भनिएको छ कि निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भनेर १५ दिनभित्र स्पष्टीकरण मागिएको थियो। तर समयभित्र जवाफ नआएपछि, काम सुरु नगरी तथा प्रतिनिधि पनि सम्पर्कमा नआएपछि ठेक्का तोडिएको हो।

निर्देशनालयले ठेक्का तोडिएपछि सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (८) अनुसार कार्य सम्पादन जमानत जफत गर्ने, बाँकी काम पूरा गर्न आवश्यक रकम सरकारी बाँकी रकम सरह असुल गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सिफारिस गर्ने जनाएको छ।

साथै अद्यावधिक काम र बाँकी कामको नापजाँच तथा मूल्यांकन गरी वित्तीय फरफारख गर्न कम्पनी वा प्रतिनिधि १५ दिनभित्र उपस्थित हुन भनिएको छ। अनुपस्थित भए कार्यालयबाट नापजाँच गरिने उल्लेख सूचनामा गरिएको छ। यसअघि पनि सरकारले झापाको कन्काई पुलको ठेक्का १४ वर्षसम्म अलपत्र रहेको कारण तोडेको थियो।

Facebook Comments Box