बन्दीपुर गाउँपालिकाले सिद्धगुफा प्रवर्द्धनमा जोड
दमौली, १२ मङ्सिर – बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित नेपालकै ठूलो मानिएको सिद्धगुफाको प्रचारप्रसारमा गाउँपालिका सक्रिय भएको छ। ओझेलमा परेको गुफामा पर्यटकको आगमन बढाउन गाउँपालिकाले बजेट विनियोजन गर्दै रङरोगन, सिँढी मर्मत, बस्ने आरामस्थल निर्माण र सौन्दर्यकरणको काम अघि बढाएको छ।
अध्यक्ष सुरेन्द्र थापाका अनुसार, पृथ्वीराजमार्गबाट २० मिनेट पैदल यात्रा गरेर पुगिने गुफा धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण छ। गुफा व्यवस्थापन पूर्ववत् गैरसक्रिय रहेको विकास समितिलाई सक्रिय नगरी गाउँपालिकाले नै गर्ने निर्णय गरिएको छ।
सिद्धगुफा ४५०–८०० मिटर लामो छ र यहाँ ३५ सय वर्ष पुरानो प्रागकालीन मानव निर्मित आकृतिहरू भेटिन्छन्। गुफाभित्र तामाका पुराना सिक्का, माटोको घैँटो, सुराही, जनावरको दाह्रा र टेराकोटाका थाल लगायतका वस्तुहरू फेला परेको पुरातत्वविद् बताउँछन्।
गाउँपालिकाले चालु आवमा गुफाको लागि रु १० लाख बजेट विनियोजन गरेको छ भने नवप्रवर्तन साझेदारी कोषअन्तर्गत सौन्दर्यकरणका लागि रु १ करोड ३ लाख खर्च गरिएको छ। स्थानीय सञ्चारकर्मी र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले पनि गुफाको प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सिद्धगुफा धार्मिक महत्वका कारण बोलबम मेला समेत लाग्ने ठाउँ हो। गाउँपालिका प्रवर्द्धनमा जुटेपछि पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ।

