सामाजिक सुरक्षा कोषमा योगदान रकम एक खर्ब नजिक
काठमाडौँ, ८ मङ्सिर – सरकारले सर्वसाधारणलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक सुरक्षा कोषमा योगदान रकम एक खर्ब नजिक पुगेको छ। कोषका अनुसार हालसम्म जम्मा भएको कूल योगदान रकम ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार ३६२ रुपैयाँ पुगेको छ।
हालसम्म कोषमा सूचीकृत रोजगारदाता २२ हजार ३०९ र सूचीकृत योगदानकर्ता २६ लाख ४१ हजार १८९ पुगेका छन्। कोषले दाबी भुक्तानीका रूपमा हालसम्म १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार ६८४ रुपैयाँ वितरण गरेको छ।
दाबी भुक्तानीको विवरण अनुसार—
-
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व : २ अर्ब ५१ करोड २० लाख ९४ हजार ८२२
-
दुर्घटना तथा अशक्तता : २२ करोड ८६ लाख ५३ हजार ४७५
-
आश्रित परिवार सुरक्षा : २९ करोड ७ लाख ७२ हजार ११६
-
अवकाश दाबी : १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार २७१
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा कोषमा सहभागी हुनुपर्ने व्यवस्था लागू भएपछि कोषको पहुँच र प्रभावकारिता वृद्धि भएको कोषले जनाएको छ। स्वरोजगार, उद्योग–व्यवसाय तथा विभिन्न संघ–संस्थामा कार्यरत श्रमिक कोषमा सहभागी हुन सक्छन्।
कोषमा नियमित योगदानकर्ताले औषधि उपचार, पेन्सन, दुर्घटना–अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा वृद्धावस्था सुरक्षा योजना अन्तर्गतका सुविधा पाउँछन्। कोषमा जम्मा रकम तीव्र गतिमा बढ्दै गएसँगै लगानीका नयाँ स्रोत तथा ठाउँ पहिचान गर्नुपर्ने आवश्यकता बढ्दै गएको आवाज पनि उठ्न थालेको छ।

