मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ

काठमाडौं, १४ असोज – गोठाटारमा ३ असोजमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान छन् ।

पक्राउ पर्नेमध्ये मियाँद्वयले वीरगञ्जबाट घटनामा प्रयोग भएको हतियार लिएर काठमाडौं आएका प्रहरीले बताएको छ । काठमाडौंमा उनीहरुले सुटरलाई हतियार दिएर घटनाको एक दिनअघि वीरगञ्ज पुगेका थिए ।

पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको रेकी गरेको पाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले बताए ।

उनका अनुसार पक्राउ परेका व्यक्तिहरुले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको छ । घटनामा अन्य केही व्यक्ति पनि संलग्न रहेको खुलेको उनले जानकारी दिए ।

मृतक लाल मोहम्मद कुनै समय जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् । उनी २०६३ मा नक्कली नोट कारोबारी बलुराम पटुवारको अनामनगरमा भएको हत्यामा पनि संलग्न थिए ।

उनको पृष्ठभूमिलाई जोडेर मोहम्मदको हत्यामा भारतीय खुफिया निकायको संलग्नता हुनसक्ने आशंका गरिएको छ । तर एसएसपी बोहराले भने, ‘अहिलेसम्म घटनाको अन्तिम विन्दु कहाँसम्म पुग्छ भन्ने निस्किसकेको छैन, उद्देश्यसम्म पुग्न समय लाग्छ ।’

Facebook Comments Box