नेपालगन्ज भन्सारमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन
बाँके, ८ चैत – नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ। कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार चालु आव २०८२/८३ का लागि निर्धारण गरिएको रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार लक्ष्यमध्ये फागुन मसान्तसम्म रु १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार अर्थात् ५१.९७ प्रतिशत मात्र राजस्व उठेको छ।
उहाँका अनुसार लक्ष्य पूरा गर्न बाँकी चार महिनामा करिब ४८ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती रहेको छ। हालसम्म कुनै पनि महिनामा तोकिएको लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन। चालु आवका साउनदेखि माघसम्मका महिनामा क्रमशः ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ।
अघिल्लो आव २०८१/८२ मा लक्ष्यको ७४.६४ प्रतिशत तथा आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन भएको तथ्याङ्कले देखाउँछ। नेपाल–भारत सीमास्थित जमुनाहा नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यात बढेर राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि पछिल्ला वर्षहरूमा लक्ष्यअनुसार सङ्कलन हुन नसकेको कार्यालयले जनाएको छ।
महिनागत विवरणअनुसार साउनमा ७४.१४ प्रतिशत, भदौमा ६९.७७ प्रतिशत, असोजमा ८७.८३ प्रतिशत, कात्तिकमा ७२.३० प्रतिशत, मङ्सिरमा ८३.४५ प्रतिशत, पुसमा करिब ८३ प्रतिशत, माघमा ८८.२४ प्रतिशत र फागुनमा ८८.३२ प्रतिशत राजस्व सङ्कलन भएको छ। कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा पनि अधिकांश महिनामा लक्ष्यभन्दा कम राजस्व उठेको थियो, जसले समग्र लक्ष्य प्राप्तिमा चुनौती थपिएको देखिन्छ।

