पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द, विजयपुरमा ‘ग्रीडर लन्चिङ’ सुरु

कास्की, ६ मङ्सिर — पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलमा ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले पृथ्वीराजमार्ग आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ। मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका अनुसार विहान ६:००–८:००दिउँसो १२:००–२:०० बजे सडक पूर्ण वा आंशिक रूपमा बन्द रहनेछ।

योजना प्रमुख कृष्णबहादुर कुँवरले सो समयमा पोखरा भित्रिने–निस्कने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै आवश्यक परे प्रत्येक ३० मिनेटमा लाइन बसेका सवारीलाई क्लियर गर्न सकिने जानकारी दिए।

वैकल्पिक मार्ग

  • दुई पाङ्ग्रे तथा साना सवारी: बुढीबजार–बेलचौतारा–चाउथे हुँदै दुवैतर्फ यात्राको व्यवस्था।

  • ठूला सवारी: लेखनाको पावरहाउसचोक–बागमारा–बिरौट रुट प्रयोग गर्न आग्रह।

योजना प्रमुख कुँवरका अनुसार पोखरा–विजयपुर–तालचोक रुटमा पूर्ण रूपमा काम गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक छ।

सडक स्तरोन्नति प्रगति
काठमाडौँ–पोखरा जोड्ने प्रमुख राजमार्ग पृथ्वीराजमार्गको स्तरोन्नति कार्य मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत दुई खण्डमा विभाजन गरेर भइरहेको छ।

  • जामुने–आँबुखैरेनी (पूर्वी खण्ड): अधिकांश काम सम्पन्न

  • पोखरा–जामुने (पश्चिम खण्ड): ५९.७६ प्रतिशत भौतिक प्रगति

  • ३८.८८ किमीमध्ये ३७.४ किमीमा एकतर्फी पहिलो तहको कालोपत्र

    • २९.६१ किमीमा चार लेन

    • ७.७९ किमीमा दुई लेन

  • १२ मध्ये ११ पुल निर्माण सम्पन्न, सेती नदीको पुल निर्माणाधीन

Facebook Comments Box